किन तमाङ बोम्पोहरु (झाँक्री) गोसाइकुण्ड जान्छन् ?

.

अधिवक्ता-फुर्पा तमाङ

(१)परिचय:

तमाङ जाति प्रकृति पूजक हुन् । उनीहरु आफ्नो गाउँठाउँको सिमेभूमे (नेदा, शिव्दा) मान्छन् । गाउँठाउँको देवीदेवता आदिको पूजा गर्छन् । ब्राम्हण्डमा भएका तारागण, चन्द्र, सूर्य, हावा (वायू), पानी, खोला, झर्ना, सिमसार, कुण्ड, हिमाल, पहाड, वनजंगल, भूमि सबैलाई भगवानको रुपमा पूजा गर्छन् ।

उल्लेखित कुराहरुलाई देवीदेवता वा भगवानको रुपमा तमाङ जातिले सृष्टिकालदेखि नै मान्दै आएको हो । अतः बागमती प्रदेश रसुवा जिल्लाको हालको गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँको लेकमा रहेको गोसाइकुण्डलाई यस क्षेत्रका तमाङ जातिले प्राचीनकालदेखि नै भगवानको रुपमा मान्दै आएका छन् ।

ठूलो भार्खु र सानो भार्खु गाउँको शीरमा भएको हुनाले पनि यी दुई गाउँका बोन्पोहरुले विशेष महत्व राखेको पाइन्छ । उनीहरु जनैपूर्णिमा (बदौ छेबा च्येङा) मा कुण्डमा पूजा गर्न जान्छन् । कात्र्तिक पूर्णिमा (मङ्सीर छेबा च्येङा) मा बोन्पो र लामा दुवै मिलेर गाउँमै अलग अलग डसङ् (पूजा थान) बनाएर पूजा गर्छन् ।

तमाङ बोन्पोहरु(झाँक्री) गोसाइकुण्डलाई ठूलो देवता अर्थात महादेवको रुपमा मान्छन् । बोलीचालीमा उनीहरु महादेव नभनेर मादेउ भन्छन् । समुद्री सतहबाट ४३८० मीटर उचाईमा रहेको गोसाइकुण्डमा रसुवा जिल्ला, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाबाट विक्रम सम्वतको पात्रो अनुसार प्रत्येक वर्ष जनै पूर्णिमा (तमाङ गन्तिको चन्द्रमास पात्रो अनुसार बदौ छेबा चोङ्ङ/च्येङा) मा बोन्पोहरु कुण्डमा पूजा गर्न जान्छन् ।

(२) गोसाइकुण्डका अलग–अलग नामहरु:

गोसाइकुण्डको नाममा भने एकरुपता छैन । गाउँपिच्छे उनीहरुले बोल्ने भाषाको लवज अनुसार अलग–अलग नामले चिनिन्छ । गोसाइकुण्डलाई ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, स्याफ्रुवेशी, सेस्र्युङ, गोर्मो, यार्सा भेकमा बस्ने तमाङहरु ‘ग्यो’ भन्छन् ।

धुन्चे, बोकेझुण्डा, ठाडे, ग्राङ, राम्चे, गोम्बोडाँडा, भोर्ले, सरमथली भेकमा बस्ने तमाङहरुले ‘ह्वे’ भन्छन् । केरुङ भोटेकोशी पारिका गाउँहरु, हाकु, गोगने, डाँडागाउँ, नेसिङ, ग्रे, कोमिन, गोल्जोङ, गत्लाङ, चिलिमे, ब्रेम्दाङ, पजोङ, ब्राजम्, सिम्पुगु, ब्राब्च्ये, तर्सा, मेन्दोगङ र दालफेदी गाउँमा बस्ने तमाङहरुले पनि ‘ह्वे’ नै भन्छन् ।

थुमन, टिमुरे, घट्टेखोला, खैदी, ब्रिदिम, खाङजिम, बेन्ज्याङ, सुर्का, शेर्पागाउँ र लाङटाङ गाउँका तमाङरु ‘छोकर’ भन्छन् । बोन धर्म र बौद्द धर्मको धार्मिक कार्यमा पूजा गर्दा पनि भोटेली भाषामै ‘छोकर’ भनिन्छ । भोटेली भाषाको‘छोकर’ शव्दको शाव्दिक अर्थ सेतो कुण्ड भन्ने जनाउँछ । लामा र बोन्पोले पूजा गर्दा गोसाइकुण्ड ‘ह्याप क्षेयाल क्षेम्बो’ भन्छन् । ‘ह्याप क्षेयाल क्षेम्बो’ को अर्थ ह्याप भनेको बुबा हो । ‘क्षेयाल’ भनेको ज्ञानको ज्योति/किरण/फैलावट भन्ने जनाउँछ । ‘क्षेम्बो/क्षेन्पो’ को अर्थ ठूलो÷मुख्य भन्ने हुन्छ । अर्थात ज्ञानको ज्योति फैलाउने सबैभन्दा ठूलो शक्तिदेव भन्ने जनाउँछ ।

गोसाइकुण्डलाई एउटै देवताको रुपमा मात्र मान्दैनन् । बरु ह्याप क्षेयाल क्षेम्बोसंग ह्युम फमाडोल्मो अर्थात डोल्मा (माता देवी) पनि साथै रहेको विश्वास गर्छन् । त्यसरी नै ‘ल्हावाङ्बु ह्याप्सेन्’ अर्थात देवताहरुको पनि देव/पिता भन्छन् । यस भेकका तमाङ जातिले गोसाइकुण्डलाई हिन्दुको देवता होइन आफ्नो गाउँठाउँको नेदा शिव्दा (सिमेभूमे) ठूलो भगवानको रुपमा पुज्ने गरेको पाइन्छ ।

साथै उनीहरु गोसाइकुण्डलाई एउटै देवताको रुपमा मात्र मान्दैनन् बरु ह्याप क्षेयाल क्षेम्बोसंग ह्युम फमाडोल्मो अर्थात डोल्मा (माता देवी) पनि साथै रहेको विश्वास गर्छन् । त्यसरी नै ‘ल्हावाङ्बु ह्याप्सेन्’ अर्थात देवताहरुको पनि देव÷पिता भन्छन् । अतः यस भेकका तमाङ जातिले गोसाइकुण्डलाई हिन्दुको देवताको रुपमा होइन आफ्नो गाउँठाउँको नेदा शिव्दा (सिमेभूमे) ठूलो भगवानको रुपमा पुज्ने गरेको पाइन्छ ।

 

(३) किन तमाङ बोम्बोहरु गोसाइकुण्ड जान्छन् ?

तमाङ जातिको पहिलो धर्म बोन हो । सातौं/आठौं शताव्दी देखि हिमालय क्षेत्रमा बौद्द धर्मको बज्रयान सम्प्रदाय देखा परेपछि उनीहरुले दुवै धर्मलाई मान्दै आएका हुन् । त्यसकारण तमाङ जातिमा अहिले पनि बोन धर्मको ठूलो प्रभाव रहेको पाइन्छ । ठूलो भार्खु देखि गोसाइकुण्ड सम्म जाने बाटामा थुप्रै नेदाशिव्दा (सिमेभूमे थान) हरु रहेका छन् ।

गोसाइकुण्ड जाँदा ती सबै थानहरुमा बोन्पोले पूजा गर्दै जानुपर्छ । च्योलाङदेखि माथि र लौरीविना (बेर्कसाङसिङ) देखि मुनि पर्ने ‘गुरुप’ भन्ने ठाउँ छ । यो ठाउँमा बाटैको मध्यभागमा ढुंगाको ताल्चा छ । यसैलाई ‘गुरप/गोरप’ भनिन्छ । यो क्षेत्रदेखि माथिको लेक सबै पवित्र मानिन्छ । यो मानव वस्ती र भगवानको क्षेत्रबीच छुट्याउने सीमा/ढोका हो । झाँक्रीहरुले मन्त्रले ताल्चा खोल्नुपर्छ । यो स्थानदेखि माथि गोसाइकुण्ड क्षेत्रमा थुप्रै नेदा शिप्दा/सुङ्माहरु छन् ।यी मध्ये व्याङलत्ती ससबारी, क्षुम्क्षर (झर्ना), छोना (भैरवकुण्ड), नोर्छो (सूर्यकुण्ड) आदि शिव्दाहरु छन् । गोसाइकुण्ड जानुका निम्न कारणहरु छन् ।

(क) नेदा शिव्दा क्योङ्बा:

ठूलो भार्खु र सानो भार्खु गाउँका तमाङ बोन्पोहरु गोसाइकुण्डलाई गाउँका ठूलो नेदा शिव्दा (देवता) को रुपमा मान्छन् । ‘ल्हा क्षेन्पो मादेउ’, ‘ह्याप क्षेयाल क्षेन्पो’, ‘ल्हा वाङबु ह्याप्सेन’ भनेर देवताहरुहो पनि ठूलो देवता वा महादेव भनेर मान्ने भएकोले पूजा गर्न जान्छन् । पूजा गर्नुलाई ‘नेदा शिव्दा क्योङ्बा’ भनिन्छ ।

(ख) बेन ग्यायी छोसा:

झाँक्रीहरुका अनुसार उनीहरुको जीवनमा एकपटक गोसाइकुण्ड पुग्नै पर्ने हुन्छ । बोन्पोहरुले पूजा गर्दा गोसाइकुण्डलाई ‘बेन ग्यायी छोसा, ल्हाबेन ग्यायी छोसा’ अर्थात सयौं बोन्पो (झाँक्रीहरु भेला हुने पवित्र स्थान भन्छन् ।जनैपूर्णिमाको दिन रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र देशभरिबाट तमाङ झाँक्रीहरु आउने गर्छन् । गोसाइकुण्डको मुख्य पुजारी भार्खुगाउँको कर्पु बेन झाँक्रीका सन्तान झाँक्रीहरु हुने परम्परा रहेको छ । उनीहरु अन्य झाँक्री भन्दा केही भिन्न छन् । उनीहरु गाईगोरुको मासु, सिस्नु आदि अपवित्र खाद्यवस्तु खाँदैनन् । नाङ्गो खुट्टा टेकेर कुण्ड जान्छन् । अहिले गोसाइकुण्डको मुख्य पूजारी दावा तमाङ (झाँक्री) रहेको छ ।

(ग) बेन छार ङ्होठे:

गाउँमा कसैले बोन्पो सिक्यो भने गोसाइकुण्ड जानैपर्छ । गोसाइकुण्डमा गुरुसंगै गएर गुरुको वाङ (दीक्षा) लिने परम्परा छ । कुण्डको उत्तर–पूर्वमा रहेको मादेउ थानमा कम्तिमा तीन फेरो परिक्रमा गर्नुपर्छ । नयाँ झाँक्रीलाई गुरुले ‘वाङ’ हाल्ने÷दिने गरिन्छ । झाँक्री काम्छन् र ‘ल्हाके श्येबा’ अर्थात भगवानवाणी बक्न लगाइन्छ । कुण्डमा पूजा गरिसकेपछि कुण्डदेखि पश्चिममा रहेको ड्प्खाङ गुफामा जानुपर्छ । त्यो ठाउँमा गएर नयाँ बोन्पोको परिचय दिनुपर्छ । यसलाई ‘बेन छार ङ्होठे’ अर्थात नयाँ बोन्पो चिनाउने विधि गरिन्छ । यो एकप्रकारको धार्मिक अभिशेक हो । यति गरेपछि मात्र बोन्पो पक्का भएको मानिन्छ ।

(घ) बेन्शे सप:

विशेषगरी ठूलो भार्खु र सानो भार्खु गाउँका बोन्पो (झाँक्री) हरु मृत्यू पश्चात पहिलो संस्कार बोन्पोहरुले नै गर्छन् । गाउँका सबै बोन्पोहरु मृतकको घरमा भेला भएर ठिसोल गर्छन् । । रातभरि ‘बुम्ब डुप्पा’ पूजा गर्छन् । लाश लैजानु अघि गाउँको मुख्य बोन्पोले नै ठिसोले (चोखो, शुद्द बनाउने काम गरेर ‘फोवा’ अर्थात आत्मालाई ‘सोसोगङ’ (स्वर्ग) पठाउने काम गर्छन् । लाश जलाउन लैजाने बेला पनि अघिअघि बोन्पोहरु र त्यसपछि लामाहरु जान्छन् । लाश जलाउनु अघि पनि बोन्पोको संस्कार सकेपछि मात्र लाशको जिम्मा लामालाई दिइन्छ । घेवा अघि बोन्पोले ‘बोन्डोल’ अर्थात झाँक्रीहरुबाट सम्पन्न गरिने घेवा गरिन्छ । बेन्डोल गर्दा गाउँका सबै झाँक्रीहरु पूजामा सहभागी हुन्छन् ।

भनिन्छ, बोन्पोले बेन्डोल गरेपछि लामाले घेवा गर्नु अनिवार्य मानिदैन । किनभने उनीहरुका मान्यता अनुसार बोन्पोहरु बेन्डोलपछि ‘सोसोगङ’ स्वर्गको ‘रिक्चेन् डल्’ जहाँ यसअघिका बोन्पोहरु छन् त्यहीं पुगिने विश्वास गरिन्छ । बोन्पो मृत्यू भएको वर्ष दिनमा बदौ छेबा च्येङा (जनैपूर्णिमा) को दिन पारेर गाउँबाट मृतक बोन्पोको अन्तिम् बिदाइको लागि गाउँको मुख्य बोन्पो र गाउँलेहरु समेत गोसाइकुण्डमा पूजा गरेर छेखाङ–डुप्खाङ गुफामा मृतक बोन्पोको प्रतिमूर्ति स्वरुप तोर्मो बनाएर चढाउने काम गरी बिदाइ गरिन्छ । यसलाई ‘बेन्शे सप’ अर्थात मृतक बोन्पोको आत्मा पुर्याउने काम भनिन्छ । बोन्पोहरुको मृत्यू पश्चात यो अनिवार्य हो । यसकारण पनि गोसाइकुण्ड र तमाङ झाँक्रीहरु यो संस्कार कार्यले जोडिन्छ ।

(ङ)ङेरुप श्युबा :
कुनै व्यक्तिले अरुको लागि जति नै राम्रो वा भलाई काम गरे पनि राम्रो भन्दैन । जस पाइँदैन । यस्तो अवस्था दोहोरी रह्यो भने झाँक्रीले गोसाइकुण्ड देखि पूर्वतर्फ रहेको गंगा त्रिशूलधारामा ‘ङेरुप श्युबा’ अर्थात ग्रहदशाबाट मुक्ति दिनको लागि आशिष माग्ने काम गरिन्छ । साथै अपवित्र चीज वस्तु खाएको, त्यसले छोएर ‘डिप्’ अर्थात अशुद्द भएको भए त्रिशूलधाराको पानीले अशुद्द पखाल्न (डिप्साङ्) अर्थात ‘ठिसोल’ गरिन्छ ।

नयाँ झाँक्रीलाई गुरुले ‘वाङ’ हाल्ने/दिने गरिन्छ । झाँक्री काम्छन् र ‘ल्हाके श्येबा’ अर्थात भगवानवाणी बक्न लगाइन्छ । कुण्डमा पूजा गरिसकेपछि कुण्डदेखि पश्चिममा रहेको ड्प्खाङ गुफामा जानुपर्छ । त्यो ठाउँमा गएर नयाँ बोन्पोको परिचय दिनुपर्छ । यसलाई ‘बेन छार ङ्होठे’ अर्थात नयाँ बोन्पो चिनाउने विधि गरिन्छ । यो एकप्रकारको धार्मिक अभिशेक हो । यति गरेपछि मात्र बोन्पो पक्का भएको मानिन्छ ।

(च) छे श्युबा :

मानिसको जन्मपछि मृत्यू शास्वत हो । बाँचुन्जेल दुःख बिरामी केही नहोस् भन्ने हुन्छ ।

एकदिन भए पनि बढी बाँच्न पाए हुन्छ भन्ने चाहना हुन्छ । कतिलाई रुढीवादी सोच होला तर धार्मिक आस्था भएकाहरु दैवी शक्ति, भूतप्रेत जस्ता खराब शक्ति हुन्छ भनेर विश्वास गर्छन् ।

गोसाइकुण्डलाई मनोकामना पूरा गर्ने शक्तिदेवको रुपमा पनि पुज्ने गर्छन् । रोगी बिरामीहरु पनि सकेसम्म झाँक्रीसंग गोसाइकुण्डमा गएर दिर्घायुको आशिष माग्छन् । यसलाई तमाङ भाषामा ‘छे श्युबा’ भनिन्छ ।

गोसाइकुण्डको पश्चिमपट्टि किनारामा ठूलो ढुंगा छ । यो ठाउँमा मान्छेको दिर्घायुको कामना गद ‘छे श्युबा’ गर्ने स्थान छ ।

झाँक्रीले मन्त्र गरेर पूजा गरेर ढ्याङ्ग्रोमा ‘छे’ थाप्छन् । ढ्याङ्ग्रोमा स–साना सेता दानाहरु देखा पर्छन् ।

ती सेता दानाहरु नै ‘छे’ हुन् । जति धेरै ‘छे’ दाना ढ्याङ्ग्रोमा देखिन्छन् र त्यो नै लामो आयूको संकेत हो ।

ती सेता दानाहरुलाई झाँक्रीका सहयोगी (बोम्बो ल्हामो) ले छिटोछिटो नौनी घिउले टिप्छन् र जसका लागि आयू मागेको हो उसको निधारमा ‘ह्यार्का’ अर्थात टीका लगाइदिन्छन् । त्यहाँ नपुगेकाहरुका लागि भने नौनी घिउले टिपेर पोको पारेर ल्याउँछन् ।

(छ) न्होरकी याङ श्युबा :

आफ्नो जीवनको आधा उमेर बिते पनि कसैको कुनै पनि काम बनिरहेको हुँदैन । पूंजी लगानी गरेर कैयौंपटक पेशा व्यवसाय गरे पनि फाप्दैन । आम्दानी धेरै भए पनि बचत हुँदैन । यस्तो अवस्थामा गोसाइकुण्डमा गएर झाँक्रीले पूजा गर्छन् । कुण्डको पश्चिमको किनारमा रहेको ढुंगामाथि चढेर पूर्वतर्फ फकेर झाँक्रीले पूजा गरेर मकै, अन्नपात, त्रिशूल र तोर्मो चढाउँछन् । ‘न्होरकी याङ् श्युबा’ भनेको धन सम्पति मागेको हो ।

(ज) दिण्डु छे/याङ श्युबा:

कुण्डको पश्चिमको किनारमा रहेको ढुंगामाथि चढेर पूर्वतर्फ फकेर झाँक्रीले पूजा गरेर गाईवस्तुको आयू र संख्यात्मक तथा गुणात्मकृ बृद्दिको लागि पूजा गरिन्छ ।

(झ) कोला श्युबा:

कुनै दम्पति विवाह गरेर दशौं वर्ष बिते पनि सन्तान हुँदैन । त्यस्ता दम्पतिको लागि झाँक्रीले गोसाइकुण्डको दक्षिणतर्फ संगै जोडिएको ‘कलेआमा ग्यो (कुण्ड)’ मा सन्तान माग्छन् । त्यसरी मागेपछि सन्तान हुने विश्वास गरिन्छ । सन्तान र बच्चाहरुको देवीको रुपमा कलेआमालाई लिइन्छ । बच्चाहरुलाई बाबुआमा वा घरपरिवारले राम्रो गरेन भने कलेआमा रिसाएर त्यो बच्चालाई उनैले लिएर जान्छन् (मृत्यू) भन्ने विश्वास गरिन्छ ।

(ञ) कोलामा ठिसोल लप : 
तमाङ भाषामा ‘कले आमा ग्यो’ भनिने कुण्डमा नुहाइदियो, डुबुल्की मार्न लगायो भने बोली नफुटेका बच्चाहरुको बोली फुट्ने, लाटालाटी नहुने, लठेब्रो नहुने विश्वास गरिन्छ ।

(२) समस्या र चुनौतिहरु:

वि.सं. २०६० सालतिरको कुरा हो । ठूलो भार्खु र सानो भार्खु गाउँबाट २३ जना बोन्पोहरु गोसाइकुण्डमा एकैपटक गएका थिए । त्यतिखेरका बोन्पोहरुमध्ये केही त मृत्यू भइसकेका छन् । उमेरले बृद्द भएर मृत्यू हुँदा बोन्पोहरुको संख्यामा कम्ति हुँदै गएको छ । नयाँ पुस्ताले आधुनिक शिक्षा ग्रहण गर्दा बोन्पो धर्मको संस्कारहरु सिक्न उति उत्साह गरेको पाइँदैन । यो आलेख तयार गर्नको लागि ठूलो भार्खु र सानो भार्खु गाउँमा गरिएको अनुसन्धानबाट निम्न समस्या र चुनौतिहरु देखिएका छन्:

(१) आधुनिक शिक्षा:

राज्यले प्रत्येक बालबालिकालाई अनिवार्य शिक्षामा जोड दिएका छन् । शिक्षाको महत्व गाउँघर सम्मै पुगेको अवस्था छ । बिहान बेलुकी घरमा भए पनि दिनभरिको समय विद्यालयमा गएर पढ्नु पर्ने र घरमा आए पनि गृहकाय गर्नु पर्ने हुँदा बालबालिकाको अधिकाशं समय आधुनिक शिक्षा ग्रहणमै खर्च हुन्छन् । अतः गाउँघरमा हुने धार्मिक कृयाकलापहरु समेत उति हेर्न र सिक्ने उनीहरुमा समय हुँदैन ।

(२) मातृ शिक्षामा शिक्षण सिकाइ नहुनु : 

गाउँघरको विद्यालयहरुमा हुने शिक्षण सिकाईका हरेक क्रियाकलापहरु प्रायः नेपाली भाषामै हुन्छन् । बोन्पोको संस्कार कार्यहरु भोटेली भाषा र तमाङ भाषामा हुन्छन् । अधिकाशं समय गैरमातृभाषामा पठन पाठन हुने हुँदा अहिलेका बालबालिकाहरु घरमा पनि मातृभाषा बोल्नु भन्दा नेपाली भाषामै कुराकानी गर्नेको संख्या अधिक छन् । भाषाको बुझाईमा समस्या भएकोले बोन्पो धर्मको संस्कारहरु प्रति उनीहरु क्रमशः अनविज्ञ हुँदै गएका छन् ।

(३) बोन्पोको धार्मिक संस्कारलाई रुढीवादी परम्परासंग जोडेर हेरिनु:

आधुनिक विज्ञानले धर्म, संस्कृति र परम्पराहरुलाई प्रायः रुढीवादीसंग जोडेर हेर्ने गर्छन् । त्यसको प्रभाव गाउँघरमै पनि देखा पर्दै गएका छन् । विरामी हुँदा अस्पतालमा गएर रोग निको हुनेहरुको संख्यात्मक बृद्दिले गर्दा बोन्पोले गर्ने धार्मिक संस्कार र त्यो संगै जोडेर आएको जडीबुटी दिएर रोग निको पार्ने कामहरुमा समेत ह्रास आएका छन् । बोन्पोले आँखाले नदेख्ने देवीदेवताको पूजा गर्ने र भूतप्रेतलाई फाल्ने तथा धपाउने काम मात्र गर्छन् । यसकारण पनि बोन्पो धर्म र संस्कार प्रति आधुनिक पुस्ता क्रमशः निराश र विच्छेद हुँदै गएका छन् ।

(४) बसाईं सराई :

आफ्नो गाउँ छोडेर अन्य गाउँमा वा टाढा गएपछि गाउँघरको धार्मिक, साँस्कृतिक र सामाजिक क्रियाकलापहरुमा सहभागी हुन नपाउनाले पनि समस्या देखिएका छन् ।

(५) पुख्र्यौली पेशामा आएको परिवर्तन :

उहिले वस्तु विनिमयमा आधारित बजार थियो । अहिले त्यो ठाउँ नगदले लिएको छ । नगद आम्दानीको लागि मानिसहरु गाउँघरको पुख्र्यौली पेशा छाडी अन्यत्र वा वैदेशिक रोजगारमा जान थालेका छन् । यो पनि एउटा समस्या देखिएको छ । बुबा वा आमा वैदेशिक रोजगारमा गएपछि सन्तानलाई पढाउनको लागि शहर बजारमा ल्याएर राख्ने गर्नाले गाउँघरको धार्मिक, साँस्कृतिक र सामाजिक क्रियाकलापहरुमा उनीहरु सहभागी हुन सक्दैनन् ।

(६) धर्म परिवर्तन:

धर्म परिवर्तनले संस्कृति र संस्कारमै परिवर्तन गराउँछ । भाषामा समेत यसको परिवर्तन हुने देखिएको छ । उदाहरणको लागि इसाई धर्ममा परिवर्तन हुँदा गाउँठाउँको नेदा शिब्दा (सिमेभूमे) को पूजा गर्ने कुरा नै हुँदैन । भोटेली भाषामा पूजा गर्नु पर्नेमा बाइबल पढ्दा र भजन गाउँदा नेपाली वा अंग्रेजीमा हुन्छन् । भगवान र देवीदेवताको नाममा परिवर्तन हुन्छ । इसाई धर्म मान्नेले अरुको धर्मलाई शैतान भन्छन् । यस्तो अवस्थामा बोन्पो सिक्ने कुरै आउँदैन ।

(७) गेलुक् बौद्द धर्मको आक्रमक उपस्थिति:

हिजो आज तमाङ गाउँघरमा बौद्द धर्मकै गेलुक र कतिपय अवस्थामा निङ्मा (बज्रयान) सम्प्रदायले पनि बोन्पोलाई घरमा पूजापाठ गर्न दिनु हुँदैन भन्ने पनि देखिन थालेका छन् । तमाङ गाउँहरुमा उहिले देखि नै बोन र बौद्द धर्मबीच धार्मिक सहिष्णुता र सामाजिक सद्भावपूर्ण व्यवहार हुँदै आएको हो । यो समस्या उति गहिरो त भएको छैन तर विशेषगरी तिब्बतीयन गुम्बाहरुमा बसेर लामा पढेर आउने भिक्षुहरुको प्रवचनहरुमा त्यस्तो देख्न पाइन्छ ।

(८) महंगी बढ्नु:

गाउँघरका बोन्पोले गर्ने धार्मिक सेवा निशुल्क हुन्छ । उनीहरु शुल्क वा दक्षिणा (कुयेन) लिन मान्दैनन् । आफ्ना गुरुहरुको आदेश यही हो । परम्परा नै यही हो भन्छन् । गोसाइकुण्ड लगायतका धेरै नेदा, शिव्दा भएको स्थानमा आफ्नो जीवनकाल भरि पूजा गर्न जानुपर्छ । यसरी जाँदा खर्च चाहिन्छ । अहिले बजार महंगो भएको छ । कहिलेकाहीं गाउँघरमा हप्तौं सम्म पूजा गरेर हिंड्नु पर्ने हुन्छ । घरको काम पनि हराउँछ । ज्याला मज्दूरी गर्नेले ज्याला पनि हराउँछ । यद्यपि बोन्पोले आफ्नो धार्मिक सेवा गरि नै रहेका हुन्छन् । यसको प्रभाव नयाँ बोन्पो सिक्नेहरुमा पर्न जान्छन् र यो विद्या सिक्न निरुत्साहित बन्छन् ।

(३) सुझाव :

वास्तवमा भन्ने हो भने बोन्पोहरु धार्मिक गुरु मात्र होइनन् । ती परम्परागत ज्ञानका गुरु पनि हुन् । धार्मिक संस्कारसंगै जडीबुटीबाट विरामीको उपचार गर्छन् । ती सामाजिक मनोचिकित्साका अभ्यासकर्ता पनि हुन् । कतिपयलाई बोन्पोले पूजा नगरी अस्पतालमा गएर औषधि खानै मान्दैनन् । ती वातावरण तथा जैविक विविधता संरक्षक पनि हुन् । किनभने प्रकृति पूजक हुन् । सिमसार, कुण्ड, ताल, खोला, नाला, पानी मुहानमा जथाभावी फोहोर मैला गर्नु हुँदैन भनेर समाजमा सिकाउने कार्य गर्दछन् । बोन्पो मौखिक इतिहासकार पनि हुन् ।

उनीहरुको पूजा गर्दा सृष्टिदेखि बर्तमान सम्मको कुराहरु जोडिन्छन् ।आफूले जानेको ज्ञान आफ्ना शिष्यहरु मार्फत समाजमा लागू गराउँदै जान्छन् । आधुनिक विज्ञान र ज्ञानले धेरै कुरामा उपलव्धि गरेका छन् तर बोन्पोका सबै कार्यलाई रुढीवादीसंग जोडेर हेरिनु हुँदैन । यद्यपि यो विद्या क्रमशः लोप हुँदै गएकोले यसको संरक्षणको लागि निम्न सुझावहरु रहेका छन् :

(१)मातृभाषामा शिक्षा :

बालबालिकाहरुलाई गाउँघरकै विद्यालयहरुले मातृभाषा र अन्य भाषामै गुणस्तरीय शिक्षा दिने व्यवस्था गर्नुपछ । मातृभाषाले गर्दा उनीहरुले आफ्नो पहिचानलाई समेत निरन्तरता दिने र पितापूर्खाले गर्दै आएको धर्म संस्कृति बारे सहज तरिकाले बुझ्ने क्षमता अभिवृद्दि हुन्छ ।

(२) थातथलोमै बसोबास गर्ने:

कोही पनि आफ्नो थाततलो छोडेर अन्यत्र जानु हुँदैन । बसाईं सराई गरेर अन्यत्र गएपछि बोन्पो धर्मको गतिविधिमै समस्या हुन्छ । किनभने बोन्पोले गर्ने धार्मिक र संस्कारजन्य क्रियाकलाप आफ्नै सिमेभूमेमा आधारित हुन्छ ।

(३) पुख्र्यौली पेशा र परम्परागत ज्ञानलाई निरन्तरता दिने:

सुःखी र आरामदायी जीवन जिउने सपना बुनेर कतिपय मानिसहरुले आफ्नो पुख्र्यौली पेशा त्यागेर अन्यत्र गएका पनि छन् । बोन्पोले गर्ने धार्मिक क्रियाकलापका लागि चाहिने सामाग्रीहरु पुख्र्यौली पेशाका खेतीपाती, पशुपालनसंग जोडिन्छ । शुद्द नौनीको लागि चौंरीगाई, गाई पाल्नुपर्छ । अक्षेता (मोने, क्षेंडु), तोर्मो आदि बनाउन धान, मकै, जौ, करु, कोदो, गहूँ, फापर, डिन्डिन् म्हेन्दो आदि फलाउनैपर्छ । अन्डाको लागि साखिने प्रजातिको कुखुरा पाल्नु पर्छ । जडीबुटीको ज्ञान चाहिन्छ ।

(४) धर्म परिवर्तन नगर्ने :

सनातन धर्म परिवर्तन गर्नु हुँदैन । पितापूर्खाले गर्दै आएको धर्म परिवर्तन गर्दा पहिचानमै संकट आउँछ । जुनै धर्म माने पनि एकदिन सबै मरेर जानुपर्छ ।

(५) बोन्पो धर्म संरक्षणमा राज्यको सहयोग आवश्यक:

माथि उल्लेखित कारणहरुले बोन धर्म संकटमा पर्दै गएको छ । यो धर्मले समाजलाई कुनै हानी नोक्सानी गरेको छैन । देवलोक, मानवीय समाज र जैविक विविधता संरक्षणमा समेत यो धर्मको भूमिका रहेको हुँदा राज्यले यो धर्म संरक्षणको लागि नीतिगत निर्णयहरु गरेर बजेट उपलव्ध गराएर लोप हुनबाट जोगाउनुपर्छ । किनभने बोन धर्म मात्र नभएर एउटा सभ्यता पनि हो भन्ने कुरा राज्यल बुझ्न जरुरी छ ।

  • यो अनुसन्धान मूलक लेख कपि पेष्ट गर्न पाइने छैन ।

  • ठूलो भार्खु, रसुवा ।
  • phurpatamang10@gmail.com
  • अधिवक्ता, एलएल.एम्/एम.ए. समाजशास्त्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार