पत्रकार देव लामालाई तामाङ कोअपरेसन सोसाइटीबाट साढे चार लाख सहयोग

.

अमेरिकास्थित तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाले कलाकार तथा पत्रकार देव लामाको उपचारका लागि ४ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । सोसाइटीले संकलन गरेको उक्त रकम  मंगलबार नेपाल तामाङ घेदुङमार्फत् बिरामी लामालाई हस्तान्तरण गरिएको छ ।

कलंकीस्थित लामाकै निवासमा पुगेर घेदुङका केन्द्रीय उपाध्यक्ष कुमार घिसिङ, सचिव रामकृष्ण ब्लोन, सूचना तथा सञ्चार विभाग प्रमुख जगत दोङ, तामाङ पत्रकार संघका अध्यक्ष विष्णु तामाङ लगायतले सोसाइटीबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरेका थिए । लामो समयदेखि बिरामी भई अचेत अवस्थामा रहेका लामाको आर्थिक अभावका कारण उपचार हुन नसकेको समाचार बाहिर आएपछि अमेरिकाबाट उक्त सहयोग जुटेको हो ।

सोसाइटीका निवर्तमान अध्यक्ष कुमार दोङ, अध्यक्ष प्रेम लामा र महासचिव सुरज पाख्रिनको संयोजनमा बिरामी लामाका लागि सहयोग संकलन गरिएको थियो । उक्त अभियानमा अमेरिकामा रहेका विभिन्न व्यक्तिहरूले सहयोग गरेका थिए ।

सहयोग हस्तान्तरणका क्रममा घेदुङका उपाध्यक्ष घिसिङले कलाकार तथा पत्रकार लामालाई शीघ्र स्वास्थ्यलाभको कामना गरे । साथै, उनले लामाको उपचारका लागि आर्थिक सहयोग गरेकोमा तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाका सम्पूर्ण पदाधिकारी तथा सहयोगी दाताहरूलाई धन्यवाद व्यक्त गरे ।

‘देव लामा पहिले नेपाल तामाङ घेदुङको भ्रातृ संगठन युवा घेदुङमा सक्रिय हुनुहुन्थ्यो, त्यतिखेर उहाँले समुदायमा पुर्‍याएको योगदान हामीले बिर्सेका छैनौं,’ उपाध्यक्ष घिसिङले भने, ‘पत्रकार र कलाकारको रूपमासमेत क्रियाशील उहाँ अस्वस्थ हुनुभएको खबर केही समयअघि मात्रै थाहा पायौं ।’ तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियासँगको सहकार्यमा सहयोग गर्ने अवसर मिलेको बताउँदै उनले थप उपचार प्रक्रियामा घेदुङको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सोही क्रममा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले संकलन गरेका ४ लाख ३२ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो । सञ्चालक कँडेलले कलाकार/पत्रकार लामाको पीडा आफूले इन्द्रेणीमार्फत् बाहिर ल्याएपछि सहयोगी हातहरू जुटेको बताए । उनले मानवीय नाताले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

मकवानपुर स्थायी घर भएका लामाले अभियान दैनिकको संवाददाता भई काम गरेका थिए । तत्कालीन माओवादी द्वन्द्वको समयमा पत्रकारिता गर्न गाह्रो भएपछि परिवारसहित राजधानी आएको उनकी पत्नी मीरा जोशी लामाले बताइन् । त्यसयता उनी कलाकारिता र चललित्र लेखन/निर्माणमा क्रियाशील रहेका थिए । एक वर्षअघि बाथरूममा लडेपछि उनी अचेत बनेका थिए । लामाको राजधानीकै ग्रिनसिटी अस्पतालमा अपरेसन गरेको भए पनि स्वास्थ्यमा सुधार नआएको परिवारले जनाएको छ ।

यसैबीच, अस्पतालका अध्यक्ष लोकबहादुर टन्डनले चिकित्सकको परामर्श लिएर लामाको थप उपचारमा सहयोग गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार