याम्बु । बौद्ध नगर विकास समितिले कोरोना भाइरसका कारण समस्यामा परेका सर्वसाधरणका लागि दोस्रो चरणको अभियान शुरु गरेको छ । नगर विकास समितिले बिहीबारदेखि ‘घर आँगन विशेष राहत प्याकेज’ शुरु गरेको हो ।
समितिका अध्यक्ष तेजमान लामाले विपन्न तथा आर्थीक अवस्था कम्जोर भएका परीवार पहिचान गरी आवश्यक खाद्यन्न, ग्याँस, औषधी व्यवस्था गर्ने जानकारी दिए ।
‘विपन्न तथा दैनिक ज्यालादारी गर्ने । तर, लकडाउनका कारण समस्यामा परेर खाद्यन्न अभाव भएका, ग्याँस अभाव भएकालाई न्युनतम सहयोग गर्ने योजना बनाएका छौं,’ समितिका अध्यक्ष लामाले भने,‘यहाँ राहत वितरण भएपनि नपाएकाहरु पनि छन् । केहीको घरमा ग्याँस छैन । अनि सरकारको पाँच किलो चामलले कति दिन धान्ने ।’
बौद्ध आसपासको क्षेत्रमा यस्ता समस्या भएका व्यक्तिको परीवारलाई समितिले घरमा नै पुगेर सहयोग गर्ने जनाएको छ । आज मात्रै टाउको अप्रेशन गर्नु पर्ने हेटौडाका सुवास घिसिङलाई कोठामा पुगेर १० हजार सहयोग गरेको अध्यक्ष लामाले जानकारी दिए ।
यस्तै एकजना संगीतकार, दुइजना एकल महिला, यस्तै रामहिटीका एक जना वृद्धा, धरान घर भएका हाल रामहिटी एक्लै बस्दै आएकी शान्ति लिम्बुलाई समेत १५/१५ सय रुपैँया आर्थीक सहयोग गरेको छ । उनीहरुलाई कोठामा पुगेर अवस्था हेरेर नै सहयोग गरेका हुन् ।
बौद्ध क्षेत्रमा रातह वितरण बाक्लै भएपनि वास्तविक पीडितले अझै राहत पाउँन सकेको छैन । यस विषयलाई मध्येनझर गर्दै बौद्ध नगर विकास समितिले रचनात्मक ढंगले उक्त अभियान थालेको हो ।
समितिले पदाधिकारीबाट राहत फन्ड जम्मा गरेर उक्त अभियान थालेको बताइएको छ । यसमा इच्छुकले समेत सहयोग गर्न सकिने जनाएको छ । समितिले यसअघि चन्द्रजित मोक्तानले सुरु गरेको निःशुल्क खाना अभियानमा एक हप्ता दैनिक तीन सयजनालाई खाना खुवाएको थियो ।