काङ्ग्युर-तेन्ग्युर भनेको के हो ?

.

खेन्पो कमल भण्डारी
याम्बु । काङ्ग्युर र तेन्ग्युर बौद्ध धर्मको लामा परम्पराको आधारभूत धर्मग्रन्थहरू हुन् । यी धर्मग्रन्थहरू पहिले भारतका पण्डितहरू तिब्बत गएर र पछि तिब्बतका लोचवा (अनुवादक) हरू भारत गएर संस्कृत अध्ययन गरी मूल संस्कृत ग्रन्थबाट तिब्बती भाषामा अनुवाद गरिएको थियो ।

सातौं शताब्दीदेखि सुरु भएको अनुवादबाट तिब्बतमा धेरै बौद्ध धर्मग्रन्थहरू तिब्बती भाषामा अनुवाद भए । यसरी अनुवाद भएका धर्मग्रन्थहरू एकत्र गरी सम्पादन गर्ने काम तिब्बती विद्वान बुतोन र बुस्तोन (सन् १२९०–१३६४) ले गरेका थिए । उनले बुद्धवचनको अनुवादहरूलाई एकातर्फ र अन्य गुरु र आचार्यहरूले लेखेका पुस्तकहरूको अनुवाद एकातर्फ गरी दुई वर्गमा छुट्याए । यसरी बुद्धवचनहरूको सङ्ग्रहलाई काङ्ग्युर र गुरुहरूको रचनालाई तेन्ग्युर भनियो ।

काङ्ग्युर जम्मा ११०८ सूत्रहरू सङ्कलित छन् भने तेन्ग्युरमा ३४५९ शीर्षकहरू समावेश भएका छन् । काङ्ग्युर प्रत्येक गुम्बामा मूल पूजाकोठामा बुद्ध मूतिको दायाँ बायाँ राखिएको हुन्छ । काङ्ग्युर नभएको गुम्बामा प्रज्ञापारमिता ग्रन्थ राखिएको हुन्छ । तेन्ग्युर भने कमै गुम्बामा मात्र राखिएको पाइन्छ । काङ्ग्युरमा विनय (दुल्वा) वर्गमा ७, प्रज्ञापारमिता (छेरछिन) वर्गमा ३६ अवतंसक (फाल्छेन) मा १, रत्नकुट (कोन्चेग) मा ४९, सुत्रान्त (देदे) मा २६६, दगममजष्कm दययप ण्द्दतन्त्र (ग्युबुम) मा ४६८, प्राचीन तन्त्र (न्यीङ्ग्युद्) मा १७, कालचक्र (दुखोर डेल्शे) मा १, धारणी सङ्ग्रह (सुङदुई वा दोमाङ) मा २६३ सूत्रहरू सङ्ग्रहित छन् ।

यी ११०८ सूत्रहरू १०० पुस्तकमा सङ्कलित छन् जसमध्ये विनयमा १३, प्रज्ञापारमितामा २१, महायान सूत्रहरूका ४४ र तन्त्रहरूका २२ पुस्तकहरू छन् । बुद्धवचनका सूत्रहरूमा सबभन्दा लामो शतसाहस्रिका प्रज्ञापारमितामा एक लाख श्लोकहरू रहेका छन् । काङ्ग्युरमा नै सङ्ग्रहित दोमाङ वा सुङदुई धेरै सूत्र र धारणीहरूको सङ्ग्रह हो । तन्त्रहरूको सङ्कलनमा चक्रसम्बर (देम्छोग), कालचक्र (दुखोर), हेवज्र (येदेर) र गुह्य समाज (साङवा दुईपा) जस्ता तन्त्रहरू समाहित छन् । प्राचीन तन्त्र (न्यीङग्युद्) मा १७ तन्त्रहरू छन् । यसरी हेर्दा ११०८ शीर्षकमध्ये ७४९ तन्त्रसँग सम्बन्धित बुद्धका उपदेशहरू काङ्ग्युरमा समाहित छन् ।

तेन्ग्युरमा जम्मा ३४५९ शीर्षकहरूमा बाँडिएको २२५ ठेली रहेको हुन्छ । विभिन्न समयमा भारतीय बौद्ध विद्वानहरूद्वारा रचना गरेका पुस्तकहरू यसमा सङ्ग्रहित छन् । यसमा खासगरी नागार्जुन, असङ्ग, वसुबन्धु, चन्द्रकीर्ति तथा अतिशहरूका पुस्तकहरू रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार