दुई महिनाअघि चीनको हुबई प्रान्तको राजधानी उहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वका ६५ देश तथा भूभागमा फैलिएको छ। कोरोना भाइरस संक्रमण देखिएका ती देश तथा भूभागमा साढे ३३ लाखभन्दा बढी नेपालीहरू रहेका छन्।
भाइरसको संक्रमण फैलन नापाओस् भनेर विभिन्न मुलुकले कोरोना भाइरस बढी प्रभावित देशका नागरिकलाई यात्रा तथा भिसामा कडाइ र प्रतिबन्ध लगाउने क्रम बढ्दो छ। नेपालले भने हालसम्म कोरोना भाइरस बढी प्रभावित देशका नागरिकलाई नेपाल प्रवेशमा कुनै पनि प्रकारको कडाइ गरेको छैन।
‘हालसम्म कोरोना भाइरस बढी प्रभावित देशका पर्यटकलाई नेपाल प्रवेश तथा भिसा प्रक्रियामा कडाइ गर्ने कुनै निर्णय भएको छैन,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपालन्युजसँग भने, ‘यो छलफलकै चरणमा छ।’
जापान, दक्षिण कोरिया र कुवेतस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन भनेका छन्। दूतावासहरूले ती देशमा रहेका नेपालीलाई सार्वजनिक यातायात प्रयोग नगर्न, भिडभाडमा नजान र मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन्। तर, नेपालमा आउन कोरोना भाइरस प्रभावित देशका पर्यटकलाई अस्थायी रूपमा केही दिनका लागि प्रवेशमा रोक लगाउन भने सरकारले हालसम्म कुनै कदम चालेको छैन।
कोरोना भाइरस बढी प्रभावित चीन, दक्षिण कोरिया, इरान, जापान, इटाली, सिंगापुरलगायतका देशका पर्यटकलाई विश्वका धेरै देशले यात्रा कडाइ तथा प्रतिबन्ध लगाएका छन्। चिनियाँ पर्यटकलाई विश्वका ६० भन्दा बढी देशले र दक्षिण कोरियाली पर्यटकलाई २० भन्दा बढी देशले यात्रामा कडाइ तथा प्रतिबन्ध गरेका छन्।
यस्तै, केही देशले जापान, इरान, इटाली, सिंगापुरलगायत देशका नागरिकलाई पनि कडाइ गर्न सुरु गरेका छन्। कोरोना भाइरस बढी प्रभावित देशका नागरिकलाई अनअराइभल भिसा दिँदै आएका धेरै देशले अहिले उक्त सुविधा केही समयका लागि स्थगित गरेका छन्।
कोरोना भाइरस बढी प्रभावित देश गएका अन्य देशका नागरिकलाई पनि ती देशबाट फर्केको १५ दिनसम्म आफ्नो देशमा प्रवेश नदिने निर्णयहरू विभिन्न देशले गरेका छन्।
पछिल्लो एक महिना अवधिमा चीन गएका जुनसुकै देशका नागरिकलाई अष्ट्रेलिया, बहामस, भारत, इन्डोनेसिया, जापान, मादागास्कर, मलेसिया, न्युजिल्यान्ड, फिलिपिन्स, सिंगापुर, टर्की, अमेरिका, भियतनामलगायत देशले आफ्नो भूमिमा प्रवेश गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएका छन्।
यस्तै, पछिल्ला १४ दिनमा इटालीको भ्रमण गर्ने जुनसुकै देशका नागरिकलाई अरुवा, कुक आइल्यान्ड्स, फिजी, इजरायल, जोर्डन, लेबनान, मौरिसस, मंगोलिया, सेन्ट लुसिया, सिसिलिजलगायत देशले आफ्नो भूमिमा प्रवेश गर्न पूर्ण रूपमा रोक लगाएका छन्। पछिल्ला २१ दिनमा बेलायतको भ्रमण गर्ने जुनसुकै देशका नागरिकलाई नौरुले आफ्नो देशमा प्रवेश नदिने निर्णय गरेको छ। सोलोमन आइल्यान्ड्सले पनि बेलायत हुँदै आउने पर्यटकलाई सिधै क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ।
मुख्य भूमि चीनमा कोरोना भाइरसका बिरामीको संख्या र मर्नेहरू घट्दै गए पनि विश्वका अन्य देशमा भने यो दिनप्रतिदिन फैलँदो क्रममा छ। पछिल्लो ९ दिनमा मात्र यो भाइरस विश्वका थप ३३ देशमा देखिएको छ।
मृत्यु हुनेको संख्या तीन हजार हाराहारी
कोरोना भाइरस पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका ६५ देशमा भेटिएको छ। पछिल्ला दुई महिनामा कोरोना भाइरसका कारण विश्वमा २ हजार ९ सय ७९ जनाले ज्यान गुमाइसकेका छन्। करिब ८७ हजारमा यो भाइरसको संक्रमण देखिएको छ।
कोरोना भाइरसका कारण हालसम्म चीनमा २ हजार ८ सय ७०, दक्षिण कोरियामा १७, इटालीमा २९, इरानमा ४३, जापानमा ६, फ्रान्समा २, हङकङमा २ र अमेरिका, ताइवान, अस्ट्रेलिया र फिलिपिन्समा एक-एक जनाको मृत्यु भएको छ।
कोरोना भाइरसको संक्रमण मुख्यभूमि चीनमा ७९ हजार ८ सय २७, दक्षिण कोरियामा ३ हजार ५ सय २६, इटालीमा १ हजार १ सय २८, इरानमा ५ सय ९३, जापानमा २ सय ४१, सिंगापुरमा १ सय २, फ्रान्समा एक सय, हङकङमा ९५, जर्मनीमा ७९, अमेरिकामा ६९, स्पेनमा ५८, कुवेतमा ४५, थाइल्यान्डमा ४२, बहराइनमा ४१ जनामा भएको पाइएको छ।
यस्तै, ताइवानमा ३९, अस्ट्रेलियामा २५, मलेसियामा २५, बेलायतमा २३, युएईमा २१, क्यानडामा २०, स्वीट्जरल्यान्डमा १९, भियतनाममा १६, नर्वेमा १५, इराकमा १३, स्वीडेनमा १३, अस्ट्रियामा १०, मकाउमा १०, ग्रीसमा ७, इजरायलमा ७, लेबनानमा ७, नेदरल्यान्ड्समा ७, क्रोएसियामा ६, ओमानमा ६, मेक्सिकोमा ४, पाकिस्तानमा ४ र फिलिपिन्स, अजरवैजान, डेनमार्क, फिनल्यान्ड, जर्जिया, भारत र रुमानियामा तीन-तीनजना कोराना भाइरसका संक्रमण रहेको पाइएको छ।
ब्राजिल र रुसमा दुई-दुई जनामा यो भाइरसको संक्रमण देखिएको छ। अफगानिस्तान, अल्जेरिया, बेलारुस, बेल्जियम, कम्बोडिया, इक्वेडर, इजिप्ट, इस्टोनिया, आइसल्यान्ड, आयरल्यान्ड, लिथवानिया, लक्जेमवर्ग, नर्थ म्यासेडोनिया, मोनाको, नेपाल, न्युजिल्यान्ड, नाइजेरिया, कतार, सान मारिनो र श्रीलंकामा एक-एक जनामा कोरोना भाइरस देखिएको छ।
कोरोना भाइरसको संक्रमण बढेपछि प्रभावित क्षेत्रमा चीन, दक्षिण कोरिया, जापान र कुवेतले विद्यालय तथा कलेजहरू बन्द गरेका छन्, जसका कारण लाखौं विद्यार्थीको पढाइसमेत प्रभावित भएको छ।
टिआइएमा दुईतर्फी यात्रुको ज्वरो जाँच गरिने
कोरोना भाइरस विश्वका धेरै देशमा देखिएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा आगमन र प्रस्थान दुईतर्फी सम्पूर्ण यात्रुको ज्वरो जाँच गर्ने भएको छ। कोरोना भाइरसको सम्भावित खतराबाट जोगिन सरकारले आइतबार नै यस्तो निर्णय लिएको अध्यागमन विभागमा महानिर्देशक पौडेलले बताए।
‘आज (आइतबार) पर्यटकमन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकले टिआइएमा दुई तर्फी यात्रुको ज्वरो जाँच अनिवार्य गरिने निर्णय गरेको छ,’ उनले भने ।
टिआइएमा बढी सतर्कता अपनाउन त्यहाँ रहेको स्वास्थ्य डेस्कमा जनशक्ति थप गर्ने निर्णय पनि भएको महानिर्देशक पौडेलले बताए।
कोरोना प्रभावित कुन देशमा कति नेपाली ?
आइतबार बिहानसम्म कोराना भाइरसको संक्रमण विश्वका ६५ देश तथा भूभागमा देखिएको छ, जुन देशमा साढे ३३ लाख भन्दा बढी नेपालीहरू रहेका छन्।
चीनस्थित नेपाली दूतावासका अनुसार कोरोना भाइरसको इपिसेन्टर तथा सबैभन्दा प्रभावित मुख्य भूमि चीनमा ८ हजार भन्दा बढी नेपाली रहेका छन्। दक्षिण कोरियामा ४२ हजार नेपाली रहेको सोलस्थित नेपाली दूतावासको अनुमान छ।
इटालीमा २ हजार ५ सयभन्दा बढी नेपाली रहेका छन्। इरानमा २५ जना नेपाली छन्। जापानमा ८८ हजारभन्दा बढी नेपाली रहेको टोकियोस्थित दूतावासको अनुमान छ।
यस्तै, सिंगापुरमा ५ हजार, हङकङमा १५ हजार ९ सय ५० भन्दा बढी, अमेरिकामा २ लाख, जमनीमा ५ हजार बढी, कुवेतमा ७० हजार, थाइल्यान्डमा ५ हजार, फ्रान्समा ५ हजार, बहराइनमा ३५ हजार, स्पेनमा १५ हजार, अस्ट्रेलियामा एक लाखभन्दा बढी, मलेसियामा ७ लाखको हाराहारीमा, युएइमा करिब ४ लाख, बेलायतमा ६० हजारभन्दा बढी, क्यानडामा १५ हजार, मकाउमा ५ हजार, इराकमा १५ हजार, ओमानमा १७ हजार नेपाली रहेका छन्।
विभिन्न स्रोतका अनुसार कतारमा ५ लाखको हाराहारीमा, न्युजिल्यान्डमा १७ हजार, बेल्जियममा ६ हजारभन्दा बढी, लेबनानमा ५ हजार, भारतमा १० लाखभन्दा बढी नेपाली रहेका छन्। यो समाचार नेपाल लाईभबाट लिइएको हो ।