
काठमाडौं,१ माघ । मकर संक्रान्ति थारु तथा मगर समूदायले आज धुमधामसँग माघी पर्व मनाईरहेका छन् । यस वर्ष पनि टुँडिखेलमा थारू राष्ट्रिय माघ (माघी) महोत्सव आयोजना गरिएको छ । यस अवसरमा वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म र्याली गरिएको छ । माघी पर्वमा पाक्ने परिकार र थारू पहिरन कार्यक्रमको मुख्य आकर्षण छ ।
आजको दिनमा थारूले आफ्ना चेलीबेटीलाई घरमा बोलाउने, टीका लगाइदिने, चामल, नुन, तरकारी, गेडागुडी राखेर निश्राउ (खाद्य परिकार) बनाएर दिने गर्दछन् । नयाँ वर्षका रुपमा मनाउने यस पर्वमा थारूले वर्षभरि गर्ने कामको योजना बनाउने, नयाँ मतवाको चयन गर्नेलगायत काम गर्छन् । माघी पर्वलाई थारू समुदायको मौलिक संस्कृतिका रुपमा मनाइन्छ ।
पुष मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पीठोको एक परिकार), माछालगायत परिकार बनाएर जाँड, रक्सीका साथै विभिन्न परिकार बनाएर खाने, रातभर ढुमरु (लोक बाजा) गाउने र नाचगान गर्ने प्रचलन छ । दाङसहित पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारूले यस पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् ।