
काठमाडौं, पुस १ । जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैणवले जानकारी दिए
आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रले तत्कालीन मिथिलाञ्चलको राजधानी जनकपुरमा शिव धनुष उचालेको र त्यसै आधारमा मार्ग शुक्ल पञ्चमी तिथिमा सीतारामको विवाह भएको प्रसङ्गअनुसार आज स्वयम्बरको आयोजना हुनलागेको महन्थ दासले बताए । सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने गरिन्छ ।
यसअघि पहिलो दिन मङ्गलबार जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ कार्यक्रमसहित सुरु भएको महोत्सवको दोस्रो दिन बुधबार विवाह मण्डपको बगैँचामा फूलबारी लीला भयो । तेस्रो दिन बिहीबारका दिन ‘धनुष यज्ञ’ सम्पन्न गरिएको थियो । धनुष यज्ञ त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग स्वयम्बरका लागि राखेको ‘शिव धनुष यज्ञ’ प्रतियोगितामा राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेको किंवदन्तीअनुसार कार्यक्रम सम्पन्न भई सीतारामबीच स्वयम्बर हुने पक्का भएको थियो । चौथो दिन शुक्रबार तिल्कोत्सव अर्थात् राममन्दिरमा जानकी मन्दिरबाट साधुसन्त र नगरका प्रमुखजनको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्न, वाग्दान) सम्पन्न भएकामा हिजो शनिबार मिथिला परम्पराअनुसार कन्यापक्षका तर्फबाट गरिने ‘मटकोर’ कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिएको थियो ।
जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले आज छैटौँ दिन रङ्गभूमी मैदान बाह्रबिघामा सीतारामको विवाह सुसम्पन्न भएर भोलि पुस २ गते रामकलेवा अर्थात् जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन खुवाई बिदाइ गरी यस वर्षको महामहोत्सव कार्यक्रम समापन हुने बताए । रासस