राज कुमार राई,२१,कात्तिक–काठमाण्डौं । अमेरिकी राष्ट्रपतिको जारी मतगणनामा डेमोक्रेट उम्मेदवार जो बाइडेनले हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा ३४ इलेक्टोरल सिट बढी जित्न सक्ने सम्भावना देखिएको छ । स्थानीय समयअनुसार बिहीबार बिहानसम्म ट्रम्पले १८ हजार बढी मतले अग्रता लिइरहेको जर्जियाको अग्रता गुमाउँदै गएका छन् । उनको अग्रता साँधुरिँदै गएर स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजे ९नेपाली समय शुक्रबार दिउँसो ३ बजेतिर० ४ सयको हाराहारीका झरेको छ ।
अब बाइडेनले यसअघि अग्रता लिइरहेको नेवादाको ६ सिट जित्ने हो र जर्जियामा पछिल्लो समय गनिएका मतमा देखिएको ट्रेन्ट कायमै रहने हो भने बाइडेनले ट्रम्पले भन्दा ३४ सिट बढी जित्न सक्ने देखिएको छ । बाइडेनले नेवादा जितेमा उनको इलेक्टोरल सिट संख्या २७० पुग्नेछ । यसमा जर्जियाको १६ सिट थपिने हो भने २८६ सिट हुनेछ । ट्रम्पले त्यसपछि बाँकी रहेका नर्थ क्यारोलिना, अलास्का र पेन्सलभेनियाका सबै सिट जिते पनि ट्रम्पको सिट २५२ मात्रै हुनेछ ।
नेपाली समयअनुसार हिजो बेलुकीसम्म जर्जियामा ट्रम्पको अग्रता बलियो थियो । तर नेपालमा आज बिहान उज्यालो हुँदासम्मको गणनामा ट्रम्पको अग्रता घटेर तीन हजारको हाराहारीमा झरेको थियो । बिहान ११ बजेतिर यो अग्रता १७ सयजतिमा झरेको थियो । शुक्रबार अपरान्ह ३ बजेतिर ट्रम्पले त्यो अग्रता पनि गुमाएका झन् र अब ट्रम्पको अग्रता मात्रै ४६३ मतको छ ।
जर्जियामा अहिलेसम्मको गणनाअनुसार ट्रम्पले २४ लाख ४८ हजार २३२ मत पाएका छन् । बाइडेनले अग्रता घटाउँदै छन् र उनको मत पनि २४ लाख ४७ हजार ७६९ पुगिसकेको छ ।