
राज कुमार राई,१८,कात्तिक–काठमाण्डौं । र्यापर भिटेनलाई पक्राउ नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ। भिटेनले दायर गरेको निषेधाज्ञाको निवेदनमाथि सुनुवाई गर्दै मंगलबार न्यायाधीश नकुल सुवेदीको एकल इजलासले पक्राउ नगर्न निषेधाज्ञाको आदेश दिएको हो। भिटेनको अश्लीलतासहितको र्याप युट्युबमार्फत सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई पक्राउ गरी कारबाही गर्न पत्राचार गरेको थियो।
उक्त पत्रको कार्यान्वयन नगर्न माग गर्दै भिटेन अदालत पुगेका हुन्। र्यापको सर्वत्र आलोचना भएपछि उनले क्षमायाचना माग्दै र्याप युट्युबाट हटाएका छन्। अदालतले र्याप हटाएर क्षमायाचना मागिसकेको अवस्थामा पक्राउ र धरपकड गर्नु न्यायोचित नहुने ठहर गरेको हो। अदालतको आदेशमा भनिएको छ,
‘निवेदकले उक्त गीत आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट हटाइ आपत्तिजनक ठानिएका शब्दलाई संशोधन गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको र आफूले सार्वजनिक गरेको गीतमा प्रयुक्त कतिपय शब्दप्रति क्षमायाचना गरिसकेको अवस्थामा अन्य फौजदारी कसूरको
अनुसन्धान तहकिकायत प्रयोजनका लागि प्रचलित कानुन बमोजिमको प्रक्रिया पूरा गरी पक्राउ गर्ने बाहेक हाल अस्तित्वमा नै नरहेको उक्त गीत संगीतको विषयलाई लिएर निवदेनको अन्तिम टुंगो नलागेसम्म यी निवेदकलाई पक्राउ गर्ने तथा धरपकड गर्ने काम नगर्न नगराउन भनि विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिइएको छ।