इन्द्रावती गाउँपालिका अध्यक्ष तामाङले आफ्नै खर्चमा जनप्रतिनिधिको कोरोना बिमा

.

याम्बु । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले व्यक्तिगत खर्चमा गाउँपालिकाभित्र रहेका जनप्रतिनिधि र कर्मचारीको बिमा गराएका छन् ।

गाउँपालिकामा रहेका ५७ जना जनप्रतिनिधिको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले व्यक्तिगत खर्चमा बिमा गरेका हुन् भने ७२ कर्मचारीको बिमा गाउँपालिकामा रहेको कोरोना कोषबाट गरिएको हो ।

आइएमई जनरल इन्स्युरेन्समा कर्मचारी र जनप्रतिनिधि गरि एक सय २९ जनाको एक लाख बराबरको एक वर्ष अवधिको बिमा गरेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । वडा नम्बर १० का जनप्रतिनिधिको भने वडाध्यक्ष जीवन थापामगरले बिमा गरिसकेकाले बाँकी ५७ जना जनप्रतिनिधिको बिमा गरिएको हो ।

गाउँपालिका र बिमा कम्पनीबीच भएको सम्झौता अनुसार फिल्डमा खटिएर काम गर्ने क्रममा कुनै जनप्रतिनिधि र कर्मचारीलाई संक्रमण भएमा बिमा कम्पनीले एक लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने छ । त्यसका लागि संक्रमित व्यक्तिले अनिवार्य रुपमा पीसीआर परीक्षणमा पोजेटिभ देखिएको रिपोर्ट पेश गर्नुुपर्नेछ ।

कोरोना संक्रमण नियन्त्रण र रोकथाममा अग्रपंक्तिमा खटिएका जनप्रतिनिधि र कर्मचारीको मनोबल उच्च बनाइराख्न उनीहरुको बिमा गरेको अध्यक्ष तामाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार