गोरखा । बर्खा सकियो र हिउँद सुरु हुन केहि महिना बाँकी छ । यस्तोमा मुलुकका उत्तरी भेगका जनतालाई भने हिउँद भरिका लागि खानेकुराको जोहो गर्ने उपयुक्त समय हो ।
उत्तरी गोरखाका स्थानीयलाई अहिले खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री जोहो गर्न भ्याइ नभ्याइ छ । भदौ ९ गते बाट तिव्वतको रुइला नाका खुलेसँगै उनीहरु खाद्यान्न लगायत अन्य आवश्यक सामाग्री किनमेलमा व्यस्त छन् ।
‘एक महिनाको लागि मात्र नाका खुल्छ,’ स्थानीय पासाङ नोर्वु लामाले भने, ‘यही बेला एक बर्षलाइ पुग्ने खाद्यान्नदेखि आवश्यक सबै सामाग्री जोहो गर्नुपर्छ ।’ स्थानीयवासीहरु अहिले तिव्वत आउँजाउँ गर्न व्यस्त रहेको उनले बताए ।
‘केहीले दुई तीन पटक गरेर सामान ल्याइसके, केही भने जानेआउने गर्दैछन्,’ स्थानीयवासी मिङमार लामाले भने । सडक सञ्जाल नहुदा यस भेगका जनता चौरी, याक, खच्चड र घोडामा सामान ढुवानी गर्छन् ।
नाका खुलेसँगै बर्षभरि जम्मा गरेको पैसा बोकेर स्थानीयहरु तिव्वतमा किनमेल गर्न जान्छन् । ‘सामान्य मान्छेले कम्तिमा पनि ५० हजारको किनमेल गर्छन्, होटल व्यवसाय गर्नेहरुले त लाखौं लाखको सामान किन्छन्,’ स्थानीय पासाङले भने ।
उत्तरी गोरखाको साविकका ६ गाविसहरुको मुख्य व्यापारिक केन्द्र तिव्वत हो । घरमा आवश्यक पर्ने नुनदेखि सुनसम्म किनमेल गर्न उनीहरु तिव्वत जाने गर्छन् । गोरखा सदरमुकाम आउन करिव चार/पाँच दिनको पैदल हिड्नु पर्ने भएपनि तिव्वत पुग्न करिव दुइ दिन मात्र लाग्ने भएकाले किनमेलका लागि स्थानीयवासी तिव्वत जाने गर्छन् ।